
नयाँदिल्ली, १ पुस– बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाए पनि भारतमा यौन हिंसा नरोकिएको अधिकारीहरुले बताएका छन् । गएको बर्ष राजधानी नयाँदिल्लीमा बसभित्रै एक युवतिमाथि भएको सामुहिक बलात्कार भएपछि कानुनमा संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गरिएको थियो ।
कानुनमा कडाइ गरिए पनि व्यवहारमा भारतमा महिला, किशोरी र बालिकाहरु बलात्कृत भएका खबर आइरहेका छन् । त्यसैले अधिकारकर्मीहरुले अब महिला सुरक्षाको प्रत्याभुतिलाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका छन् ।
सन् २०१२ डिसेम्बर १६ तारिकमा गुडिरहेको बसभित्रै बलात्कृत भएकी किशोरीको उपचारको क्रममा ज्यान गएको थियो । त्यो हृदयविदारक घटनाको आज एक बर्ष पूरा भएको छ । तर पनि यौन दुर्व्यवहारको उजुरीको संख्या दोब्बर बढेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।
भारत सरकारले महिला हिंसा रोक्नका लागि केही सुधारका प्रयास भने गरेको छ । दिल्ली सरकारले हेल्पलाइन सेवा शुरु गरेको छ भने केन्द्र सरकारले एक हजार करोड रुपैयाँ राशीको ‘निर्भया कोष’ स्थापना गरेको छ ।