
काठमाण्डु, १९ भदौ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले देशलाई संक्रमणकालबाट मुक्त गर्न स्थायी सरकार हुनुपर्नेमा जोड दिएका छन् । राजनीतिक अस्थीरता र सरकार फेरबदलको श्रृङ्खलाले देश संक्रमणकालबाट मुक्त हुन नसकेको उनको भनाई छ ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै रेग्मीले भने, ‘राजनीतिक स्थायित्व नहुँदा नेपालमा हालसम्म हाम्रा घोषित लक्ष्य हासिल गर्न सकिएको छैन ।’ उनले वर्तमान अवस्थामा राजनीतिक स्थायित्व प्राप्तिका लागि सबै कृयाशील हुनुपर्नेमा जोड दिए ।
देशमा संविधान निर्माण गरी नेपाली आवश्यकता र परिवेशलाई सम्बोधन गर्न सक्ने शासन व्यवस्थाको थालनी गर्नको लागि अहिले संविधानसभाको निर्वाचन सम्पन्न गराउन सरकार लागि परेको उनले उल्लेख गरे । ‘सरकारको प्रमुख कार्य नै सबै पक्षको प्रतिनिधित्व र समावेशीता सुनिश्चित गरी संविधानसभाको निर्वाचन गराई संविधानसभा गठन गरी संविधान निर्माणको कार्यलाई सार्थक तुल्याउने रहेको छ,’ रेग्मीले भने ।
शिक्षा प्रणालीलाई समयसापेक्ष परिवर्तन र अधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै रेग्मीले सरकारले शैक्षिक विकासका लागि भौतिक पूर्वाधार र संरचना विकासमा क्रियाशीलता बढाउने प्रतिबद्धता जनाए ।