
काठमाण्डु, २१ पुस–प्रमुख विपक्षि दलहरुको वहिस्कारको घोषणाबीच आइतबार बंगलादेशमा आम निर्वाचन जारी छ । सत्तारुढ अवामी लिग पार्टीको सरकारको राजिनामा र निश्पक्ष सरकारको निगरानीमा आम निर्वाचन गरिनु पर्ने माग राख्दै सबै विपक्षि दलहरुले चुनाव वहिस्कार गरेका छन् ।
बंगलादेश नेशनलिस्ट पार्टी लगायतका दलहरुको मागलाई सत्तारुढ आवामी लिगले भने खारेज गरेको छ । प्रमुख प्रतिपक्षि दल लगायतका दलहरुले बहिस्कार गरेको यो चुनावको निपक्षता माथि नै प्रश्न चिन्ह लागेको छ । संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले समेत चुनावको निपक्षतामा प्रश्न उठाउँदै आफ्ना पर्यवेक्षकहरु पठाउन अस्वीकार गरेका छन् ।
चुनाव अघि बंगलादेशमा हिंसात्मक घटना पनि निकै बढेका छन् । विपक्षीहरुले एक सय भन्दा बढि निर्वाचन केन्द्रमा आगजनी गरेका छन् । हिंसात्मक घटनाहरुमा नियन्त्रण गर्नु पनि वर्तमान सरकारको चुनौति बनेको छ ।
स्वतन्त्र र निश्पक्ष चुनाव गराउने भन्दै बंगलादेशमा आम निर्वाचन अक्सर निष्पक्ष स्वतन्त्र सरकारको निगरानीमा हुने गरेको थियो । तर पछिल्लोपटक सत्तामा रहेको आवामी लिग सरकारले संविधान परिवर्तन गरेर सर्वदलीय सरकारको निगरानीमा आम निर्वाचन गरिनु पर्ने संवैधानिक ब्यवस्था गरेको थियो । तर, पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टीकी नेतृ बेगम खालिदा जीयाले यस्तो सरकारको नियन्त्रणमा चुनाव निश्पक्ष हुन नसक्ने भन्दै सर्वदलीय सरकारमा जान अस्वीकार गरि गैर दलिय सरकारको नेतृत्वमा आम निर्वाचन गरिनुपर्ने माग राखेकी थिइन् ।
प्रमुख विपक्षि दलले नै निर्वाचन बहिस्कार गरेपछि सत्तारुढ आवामी लिगले सरकार बनाउने निश्चित भएको छ । विपक्षी दलले चुनाव–बहिष्कार गरेको कारण अवामी लीग र उसका सहयोगी दलले कुल ३ सय सिटमध्ये कम्तिमा १५४ सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ ।
तर त्यस्ले बंगलादेशको स्थीति झन् अस्थिर हुने विश्लेषकहरुको अनुमान छ ।