
काठमाण्डु, १३ माघ– बंगालको खाडीमा सोमबार विहान पर्यटक सवार डुङ्गा डुब्दा २१ जनाको मृत्यु भएको छ । अन्य २९ जनालाई सकुशल उद्धार गरिएको छ । मृत्यु हुनेमा धेरैजसो तमिलनाडुको काँचीपुरम र मुम्बईका बासिन्दा रहेको बताइएको छ ।
प्रधानमन्त्री मनमोहन सिंहले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
विहान साढे दुई बजे नर्थ वे आइल्याण्डबाट छुटेको सो डुङ्गा १५ मिनेटपछि नै दुर्घटना भएको हो । प्राविधिक गडबडीको कारण डुङ्गामा पानी भरिएर दुर्घटना भएको बताइएको छ । डुङ्गामा सवार पर्यटकहरुलाई लाईफ ज्याकेट प्रयोग गर्ने तरिका समेत थाहा नभएकोले धेरैको ज्यान गएको बताइएको छ ।
चालक दलका सदस्यहरु र नजिकै रहेका माझीहरुले केहीलाई उद्धार गरेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
दुर्घटनाको खबर मरीन रेस्क्यू को–अर्डिनेसन कमान्डलाई विहान चार बजे मात्र पुगेको थियो । जबकी पौने तीन बजे डुङ्गा डुबिसकेको थियो । दुर्घटनाको खबर ढिलो पाएकाले धेरैको ज्यान गएको हो ।
डुङ्गाको क्षमता तीस जनाको भए पनि त्यहाँ ४५ जना जति सवार रहेको बुझिएको छ ।