
काठमाण्डु, २८ माघ–नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई चिनियाँ प्रधानमन्त्री लि खछयाङ्ले बधाई दिएका छन् ।
लीले मंगलबार कोइरालालाई बधाई सन्देश पठाउँदै दुई देशबीचको दिगो तथा मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन तथा पारस्परिक सहयोगसम्बन्धी चीन–नेपाल विस्तृत सहकार्यका लागि प्रधानमन्त्री कोइरालासँग मिलेर काम गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गरेका छन् ।
उनले चीनले चीन–नेपाल सम्बन्धलाई उच्च महत्व दिएको र कोइरालाको कार्यकालमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ भइएर जाने विश्वास लीको छ । सन्देशमा चिनियाँ प्रधानमन्त्रीले पछिल्लो समय दुई दुशको साझा प्रयासमा विविध क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्ध र विचारविमर्शले सन्तोषजजक प्रगति गरेको उल्लेख गरेका छन् ।
उनले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धता तथा तिब्बत र ताइवान मामिलामा नेपालको दृढ समर्थनप्रति कोइरालामार्फत नेपाल र नेपालीप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक एवम् आर्थिक विकासमा इमानदारीपूर्वक सहयोग गराउने प्रतिबद्धता पनि सन्देशमा गरिएको छ ।