अष्ट्रेलियामा नेपाली विद्यार्थीको निधन

काठमाण्डु टुडे २०७५ पुष २६ गते १२:५९ मा प्रकाशित

अष्ट्रेलिया, २६ पुस – अष्ट्रेलियाको एक नदीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् ।

अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने अल्वरीस्थित मुर्रे नदीमा पौडी खेल्नेक्रममा २१ वर्षिय विगुल पण्डित डुबेर बेपत्ता भएका हुन् ।

बुधबार साँझ सात बजेतिर घटना भएको हो । घटना लगतै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयमसेवकले खोजी तिब्र पारेका छन् । तर, नदिको पानी धमिलो भएकाले खोजी कार्य प्रभावित भएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

हराईरहेका पण्डित चाल्स स्टर्ट विश्वविद्यालयमा अध्ययनरत थिए । पण्डित पहिलो पटक नदीमा पौडी खेलिरहेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार घुँडासम्म आउने पानीमा बिगुल साथीभाईसँग पानी छ्यापाछ्याप र फुटवल खेल्दै रमाईलो गरिरहेका थिए । अचानक गायब भएपछि सबै जना मिलेर खोजे पनि फेला पारेका थिएनन् ।

दुई साताअघि पनि एडिलेडमा शारीरिक अपाङ्गता भएका बालक बचाउन खोज्दा निश्चल घिमिरेको समुन्द्रमा डुबेर ज्यान गएको थियो । नेपालीको जनसंख्या बढेसँगै अष्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us