बेइजिङमा राससकर्मी श्रेष्ठको तस्वीर प्रदर्शनी

काठमाण्डु टुडे २०७५ पुष २९ गते १६:०३ मा प्रकाशित

काठमाण्डु, २९ पुस – राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ ।

बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाण्डु कलङ्कीस्थित एलआरआई स्कुलको संयोजनमा भएको चिनीयाँ भाषा प्रशिक्षण कार्यक्रममा सहभागी हुन चीन पुगेका उनले यसरी फोटो प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा तीन दर्जन तस्बीर समावेश गरिएको छ ।

प्रदर्शनी अवलोकन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले यस्ता गतिविधिले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

उनले प्रदर्शनमा रहेका तस्बीरहरू दूतावासमा रहने जानकारी दिँदै अन्यत्रसमेत प्रदर्शनी गरेर दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने बताए । सो क्रममा दुतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपाली तस्बीर प्रदर्शनी हुनु गौरवको कुरा भएको उल्लेख गरे ।

चीनमा श्रेष्ठको योे दोस्रो फोटो प्रदर्शनी हो । यसअघि गएको वैशाखमा पनि बेइजिङमै उनको फोटो प्रदर्शनी भएको थियो । प्रदर्शनीमा नेपालका ऐतिहासिक सम्पदा, पर्यटकीय स्थल, विभिन्न जातजातिका नृत्य तथा विशिष्ट व्यक्तिहरुको फोटो राखिएको छ ।

फोटो प्रदर्शनीले चिनियाँ जनतालाई नेपाल र नेपाली संस्कृति बुझ्न सहयोग पु¥याएकाले नेपालको पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको भ्रमण टोलीका संयोजक सन्तु महर्जन शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us