
काठमाण्डु २७ साउन:पूर्व अर्थमन्त्री डा. रामशरण महतले आर्थिक समृद्धिको बाधक हड्ताल र आन्दोलन भएको बताएका छन। अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा आइतवार काठमाण्डुमा आयोजित कार्यक्रममा डा. महतले बन्द हड्ताल र आन्दोलनले बिकास र आर्थिक उन्नतीमा नेपाललाई पछाडी धकेलेको बताएका हुन ।
यूवा नेतृत्वलाई बन्द, हड्ताल र आन्दोलन छाडेर आर्थिक छलफल र बहसमा जुट्न आग्रह गर्दै महतले यूवाको सक्रियताले मात्रै देश समृद्ध हुनेमा जोड दिए । यूवा र विद्यार्थीलाई बन्द, हड्ताल र आन्दोलनबाट माथि उठेर सृजनशिल एवं उत्पादनशिल कार्यमा लाग्न उनले सुझाव दिए । यूवाहरुलाई आर्थिक विकासको नेतृत्व सुझाव दिदै उनले देशको राजनीतिलाई आर्थिक उन्नतीमा परिणत गर्न सकेमा नेपाल विश्वकै धनि राष्ट्रका रुपमा अघि बढ्न सक्ने बताए। आर्थिक एजेण्डा र समृद्धिको एजेण्डामा अघि सर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्दै उनले अबको राजनीतिक एजेण्डा आर्थिक विकासका एजेण्डा बनाइनुपर्ने बताए।
कार्यक्रममा यूवा स्वरोजगार कोषका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले स्वरोजगारका लागि शिप, शिक्षा र अठोट आबश्यक रहेको बताए। व्यबसायिक शिक्षा र शिपमूलक तालिमको अभावमा नेपालीहरु बेरोजगार भएको बताए । उनका अनुसार चालु आर्थिक बर्षमा ४० हजार वेरोजगार यूवालाई स्वरोजगार बनाउने लक्ष्य छ । शिप सिकेका यूवाहरुले आफै काम गरेर राम्रो व्यबसाय संचालन गरेका धेरै उदाहरणले स्वरोजगार कार्यक्रम सफलतातर्फ अघि बढेको उनले बताए। देशको अर्थतन्त्र बलियो बन्नका लागि धेरै उद्यमीहरुको आबश्यकता रहेको भन्दै राज्य,राजनीतिक दल र सबै नागरिकहरुले त्यसतर्फ ध्यान दिनु पर्नेमा उनले जोड दिए।