
मिचिगन, २२ माघ – अमेरिकामा गैरकानुनी रुपमा बसेको भन्दै १ सय २९ जना भारतीय विद्यार्थी पक्राउ परेका छन् । अमेरिकी सरकारले गत साता पक्राउ गरेका १ सय ३० जना विदेशी विद्यार्थीलाई आफू आपराधिक कर्ममा संलग्न रहेको पूर्वजानकारी रहेको अमेरिकी अधिकारीको दावी छ ।
अमेरिकी गृह मन्त्रालयले मिचिगन राज्यमा ‘युनिभर्सिटी अफ फर्मिंग्टन’ संचालन नै गरेको थियो । सन् २०१५ मै सुरु गरेको यस विश्वविद्यालयमा १ सय २९ भारतीय सहित १ सय ३० विदेशी विद्यार्थी अध्ययनरत थिए ।
उनीहरुलाई नै अमेरिकी सरकारले गत साता पक्राउ गरेको हो । अमेरिकी सरकारका अनुसार उसले ‘ईमिग्रेशन फ्रड’को खुलासा गर्न यसो गरेको हो ।
साथै उक्त विश्वविद्यालयमा भर्ना गरेका ती सबै विद्यार्थी गैरकानूनी रहेको पनि अमेरिकी अधिकारीले बताएका छन् । उक्त विश्वविद्यालयमा पढाउने कुनै प्राध्यापक समेत नभएको जानकारी हुँदा हुँदै भर्ना भएको कुरालाई अमेरिकी गृह मन्त्रालयले उनीहरुलाई ‘ईमिग्रेशन फ्रड’मा संलग्न रहेको बताएको छ ।
यता भारतीय अधिकारीले भने भारतीय विद्यार्थीहरुलाई उक्त विश्वविद्यालयबारे जानकारी नभएको हुनसक्ने भन्दै विद्यार्थीको पक्षमा वकालत गरेका छन् ।
खासगरी ‘स्टुडेन्ट भिजा’मा अमेरिका पुगेका विदेशी विद्यार्थीले आफ्नो पढाइ सकिएपछि पनि यहाँको बसाइ लम्ब्याउन आधिकारिक प्रमाणविनाको विश्वविद्यालयमा भर्ना भएका हुन् । अमेरिकी सरकारले ती विद्यार्थीहरुबारे कानुनी प्रक्रिया अघि बढाइने पनि उल्लेख गरेको छ ।