अमेरिकास्थित नेपाली दूतावासले नै घटायो नेपालको क्षेत्रफल

काठमाण्डु टुडे २०७५ फागुन ८ गते ११:०७ मा प्रकाशित

काठमाण्डु, ८ फागुन – अमेरिकास्थित नेपाली दूतावासले आफ्नो वेबसाइटमा नेपालको क्षेत्रफल घटाएर उल्लेख गरेको पाइएको छ ।

दूतावासले आफ्नो वेवसाइटमा नेपालको क्षेत्रफल बारेमा भन्ने शीर्षकमा अंग्रेजी भाषामा राखेको विवरणमा नेपालको क्षेत्रफल करिब १ लाख ४७ हजार वर्ग किमी भनेर राखेको हो ।

खासमा नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमी हो । तर, वेबसाइटमा १८१ किमी लुकाएको पाइएको छ ।

ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपालले नेपालको वास्तविक क्षेत्रफल बालबालिकालाई पनि थाहा हुने भन्दै कडा आलोचना गरेका छन् । उनले भनेका छन्, ‘अमेरिकाको वाशिङ्टन डीसी स्थित नेपालको राजदूतावासले आफ्नो वेब पृष्ठमा नेपालको क्षेत्रफल aproximately १४७००० वर्ग किलोमिटर लेखेको पाइयो । aproximately को अर्थ लगभग वा अनुमानित वा पुगनपुग भन्ने हो जस्तो लाग्छ । अमेरिकामा यसको अर्थ ‘ठ्याक्कै’ भन्ने लाग्छ भने त्यो मलाई जानकारी भएन । नेपालको सरकारी तथ्यांकअनुसार सुगौली सन्धिलाई मानेसम्म मेचीदेखि महाकालीसम्मको हाम्रो देशको क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर हो । यो त बालबालिकालाई पनि थाहा हुने कुरा हो । तर हाम्रै राजदूतावासले नेपालको कूल क्षेत्रफलबाट १८१ वर्ग किलोमिटर घटाएर विश्वलाई सूचित गरेको रहेछ । किन होला ? यो त समवेदनाको ठाउँमा शुभकामना लेखेभन्दा पनि बढ्ता भएन र ! कुन आधारमा नेपालको क्षेत्रफल घटेको हो , परराष्ट्र मन्त्रालय र नापी विभागसँग सोध्ने अनुमति चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us