गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष पक्राउ

काठमाण्डु टुडे २०७५ फागुन १९ गते ११:२२ मा प्रकाशित

यूएई, १९ फागुन – गैरआवासीय नेपाली संघ (यूएई) का अध्यक्ष रमेश श्रेष्ठ दुबईमा पक्राउ परेका छन् । ‘ड्रिङक एन्ड ड्राइभ’ अभियोगमा श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बिहान  गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष भवन भट्ट र केन्द्रीय उपाध्यक्ष कुल आचार्यसँगै रहेका बेला एनआरएनए यूएई अध्यक्ष श्रेष्ठ पक्राउ परेका हुन् ।

भट्ट र आचार्यलाई भने दुबई प्रहरीले साधारण सोधपुछपछि छाडेकाे छ । एनआरएनए यूएईले आयोजना गरेको कार्यक्रम सकेर फर्किएका बेला श्रेष्ठ पक्राउ परेको बताइएको छ ।

एनआरएनए केन्द्रीय अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्य पनि श्रेष्ठसँगै दुबईस्थित कार्लन टावर पुगेका थिए । पर्वत सेवा समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारीमा रहेका श्रेष्ठ निकट व्यक्तिहरूसँग भेटघाटको लागि त्यहाँ पुगेका थिए ।

त्यस क्रममा केही व्यक्तिसँग एनआरएनए यूएई अध्यक्ष श्रेष्ठको विवादसमेत भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us