
काठमाण्डु, ८ बैशाख – युएईमा एक जना नेपालीको मृत्यु भएको छ । रक्सी सेवनका क्रममा दुई जनाबीच सुरु भएको विवादले छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको हो ।
युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले बताए ।
उनका अनुसार रक्सीको मातमा उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको थियो ।
आ–आफ्नो क्षेत्र विकासमा अघि रहेकोबारे तर्क हुदाँ राईले तिलकमाथि छुरा हानेका हुन् । राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरु एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्दै आएका थिए । घटना ५ दिनअघि भएता पनि दूतावासलाई कुनै जानकारी नआएको दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताइन् ।