
पोर्चुगल, २१ जेठ – युरोपेली देश पोर्चुगलमा भएको सडक दुर्घटनामा गुल्मीको मुसीकोट नगरपालिका– ६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको मृत्यु भएको छ ।
पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै तीन सय ८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा शुक्रबार साइकलमा सवार रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते रिजालको उपचारका क्रममा सोही राति निधन भएको पोर्चुगलमै बस्दै आएका उनका दाजु अमृत रिजालले जानकारी दिए । मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भएका छन् ।
उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ । दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले जानकारी दिए ।