कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते १४:२२ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– युएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गर्न सफल भएको छ । छनोटमा नेपालको यो लगातार दोस्रो जित निकालन सफल भएको हो ।

यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ । दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।

१३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो ।कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए । कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २९२ विकेट लिन सफल भएका थिए । सीमाले दुई ओभर बलिङ गर्दा २ ओभर नै मेडन राखिन् ।

रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १९१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।

त्यसअघि नेपालका लागि पुजा महतोले कप्तानी इनिङ्स इनिङ्स खेल्दै ३४ रन बनाइन् । लगातार दोस्रो खेलमा नेपालका लागि उच्च रन बनाउने क्रममा महतोले ३८ बल खेल्दा ४ चौका मद्दतमा ३४ रन बनाइन् ।

यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् । ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसाकुमारी यादवले १५ रन जोडिन् ।

कुवेतकी आयशा इकवाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली युएइसँग खेल्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us