
काठमाण्डु, २५ कात्तिक– युएईमा जारी आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले थाइल्यान्डलाई १४० रनको लक्ष्य दिएको छ ।
आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो। नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाउन सफल भएको हो । नेपालको लागी सना प्रविनले ५३ रन, साबित्री धामीले २८ रन र सोनी पाख्रिनले १९ रन बनाउन सफल भएकी थिइन ।
गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो ।
उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो। यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युएईसँग पराजित भएको थियो। उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो। प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी रहेका छन ।