
काठमाण्डु, ५ मंसिर– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ रकम बुझेका छन् ।
राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०.८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नरले एक वर्षमा १६ लाख ३२ हजार तलब बुझेका छन् । त्यस्तै ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता लिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर, डेपुटी गभर्नर अर्थसचिव र ३ जना अन्य सदस्य हुन्छन् । गत आवमा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले १४ लाख ६० हजार रुपैयाँ तलब लिएकी छन् ।
उनले सञ्चालक समितिको बैठक भत्तावापत २ लाख ९७ हजार बुझेको प्रतिवेदनमा उल्लेख छ । ४५ लाख ५८ हजार रुपैयाँ भने अन्य भत्ता लिएको प्रतिवेदनमा जनाइएको छ ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार बुझेका छन् । उनले तलबको रुपमा १४ लाख ६० हजार ४०० रुपैयाँ बुझ्दा सञ्चालक समितिको बैठक भत्ताका रुपमा ३ लाख १५ हजार प्रप्त गरेका छन ।