
काठमाण्डु, ७ मंसिर– नेपालले पहिलोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) गरेपछि विदेशी ऋणमा १.५ प्रतिशत लागत कम पर्ने भएको छ ।
त्यसबारे जानकारी दिन शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्ट्याण्डर्ड चार्टर्ड बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोरख समशेर जबराले रेटिङपछि बैंकलाई विदेशी ऋणमा १.५ प्रतिशत लागत कम पर्ने अनुमान गरिएको बताए ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक कन्ट्री रेटिङ गर्ने जिम्मा पाएको अन्तराष्ट्रिय रेटिङ एजेन्सी फिट्च रेटिङ कम्पनीको सल्लाहकारको भूमिकामा थियो ।
‘अहिले हामीलाई ऋणदाताले ४ देखि ४.५ प्रतिशतसम्म जोखिम बापत प्रिमियम जोडिरहेका थिए’, जबराले भने, ‘अब रेटिङपछि १.५ प्रतिशतसम्म कम लागत पर्न सक्छ ।’
फिचले बुधबार बुझाएको रेटिङको रिपोर्टमा नेपालले ‘बीबी माइनस’ रेटिङ पाएको उल्लेख छ ।
यो दक्षिण एसियामा भारबाहेक अरु देशभन्दा राम्रो स्थिति हो । रेटिङमा राम्रो ग्रेडिङ पाएसँगै वैदेशिक लगानी भित्र्याउन र विदेशी बैंकबाट ऋण ल्याउन सजिलो भएको छ ।