लगातार तीन दिनको वृद्धिपछि घट्यो नेप्से, साढे ८ अर्बको कारोबार

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १६:१० मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक घटेको छ । बिहीबार नेप्से ८.३० अंकले ओरालो लाग्दा समग्र परिसूचक २७४८.०५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज बिहीबार बजारमा ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार सामान्य रूपमा घटे पनि बिहीबार मूल्य घट्ने कम्पनीको संख्या धेरै देखिएको छ । कारोबार भएका कम्पनीमध्ये बिहीबार १९७ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको मूल्य मात्रै बढेको छ ।

एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । बजार घटे पनि बिहीबार व्यापारमूलक क्षेत्रमा ९.२५ प्रतिशतको उच्च वृद्धि भएको छ । विकास बैंक र जीवनबीमा उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य उपसूचक घटेका छन् ।

बिहीबार बजारमा बुटवल पावर कम्पनी र विन नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ । मानुषी लघुवित्तको सेयरमा बिहीबार नकारात्मक सर्किट ब्रेकर लागेको छ ।

बिहीबार बजारमा एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भयो । कारोबार भोल्युमको आधारमा एक्सेल नै अघि रहँदा कारोबार संख्याको आधारमा मितेरी डेभलपमेन्ट बैंक अगाडि रहेको देखिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us