
काठमाण्डु, २२ मंसिर– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ ।
शनिबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो । यसअघि उसले विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो ।
लगातार तीन खेलमा जित हात पारेको सुदूरपश्चिमले ६ अंकसहित तालिकाको शीर्ष स्थानमा आफ्नो स्थान कायम गरेको हो ।
समान खेल जितेको जनकपुर बोल्ट्सको पनि ६ अंक भएपनि नेटरनरेटका आधारमा सुदूरपश्चिम अगाडि भएको हो ।
लम्बिनीे भने लगातार तेस्रोपटक हार व्यहोरेको छ । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ९ विकेटको क्षतिमा १ सय ४२ रनमा सीमित भयो । १९ रनमा ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । उनले अविजित ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे ।
यस्तै सन्दीप जोराले २० तथा दिनेश अधिकारीले आफ्टो टिमका लागि १४ रनको योगदान गरे । अरुले दोहोरो अंकम जोड्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चिएर तथा सैफ जैबले ४ ओभरमा ३३ रन खर्चिएर समान ३ विकेट लिए । स्कट कुगेलेइनले २ तथा अविनाश बोहराले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सैफ जैबको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन बनायो ।
ओपनर जैबले ६१ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ९० रन बनाए ।
पहिलो विकेटका लागि उनले विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए । त्यसपछि दुई अर्धशतकीय साझेदारी गरे ।
जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे ।
म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख एक रन पनि नजोडी आउट भए ।
कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनका योगदान गरे ।
बलिङतर्फ लुम्बिनीका रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले १/१ विकेट लिए ।