
काठमाण्डु, २२ मंसिर– नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ ।
त्रिवि किक्रेट मैदानमा शनिबार भएको खेलमा कर्णालीले दिएको १ सय ३४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा विराटनगरले ८ विकेटको क्षतिमा १ सय २६ रन मात्र जोड्न सक्यो ।
विराटनगरको ओपनिङ नै निराशाजनक रह्यो । ओपनर मार्टिन गप्टिल दोस्रो ओभरमा चार रनमै क्याच आउट भए । अर्का ओपनर लोकेश बम १९ रनमा आउट भए ।
अकिब इल्यास र बसिर अममद समान ८ र नरेन भट्ट ७ रनमा आउट भए । १८औं ओभरमा नन्दन यादवले दुई विकेट लिन सफल भए । उनले निकोलास किर्टोनलाई ४० रन र दीपक बोहरालाई १८ रनमा बोल्ड गरे।
१९औं ओभरको दोस्रो बलमा सोपमाल कामीले क्रिस सोललाई शून्यमा पेभिलियन फर्काए । अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चााहिएको थियो । ब्याटिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र प्रतिश जिसी थिए ।
पहिलो बलमा सन्दीपले एक रन मात्र लिए । दोस्रो र तेश्रो बलमा प्रतिशले दुई/दुई रन लिए । चौथो बल डट भयो भने पाँचौ बलमा प्रतिशले एक र छैटौं तथा अन्तिम बलमा सन्दीपले एक रन मात्र लिन सके ।
खेलमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको कर्णालीका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतक खेले । कर्णाली २० ओभरमा १ सय ३३ रनमा अलआउट भयो । कर्णालीलाई सस्तोमै रोक्ने क्रममा विराटनगरका प्रतिश जिसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए ।
देवले ५३ रन जोड्दा बोसिस्टोले ६६ रन बनाए। देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । बोसिस्टोले ४९ बलमा ५ चौका र ३ छक्क हिर्काए । ओनपर शिखर धवन ५ रनमा आउट भए । उनलाई दोस्रो ओभरको तेस्रो बलमा विराटनगरका प्रतिश जिसीले बोल्ड गरे । त्यसअघि उनले १ चौका प्रहार गरे ।
यसअघिका तीन मध्ये एक खेलमा धवनले अर्धशतक प्रहार गरेका थिए । धनव आउट भएपछि अर्को ओभरमा चाडविक वाल्टन १ रनमा क्रिस सोलको बलमा आउट भए । त्यसपछि देव र बोसिस्टोले कर्णालीको इनिङ्ग्स सम्हालेका थिए । ती दुईले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी खेले ।
१६औं ओभरमा बसिरको बलमा देव आउट भएपछि अर्को ओभरमा कर्णालीका अर्जुन घर्ती अकिब इल्यासबाट १ रनमा बोल्ड भए ।
बोसिस्टो १९औं ओभरको अन्तिम बलमा क्रिस सोलको एलबिडब्लूको धरापमा परे ।
अन्तिम ओभरको पहिलो बलमा जिशन मक्सुदलाई प्रतिश जिसीले २ रनमा बसिर अहमदबाट क्याच गराए । तीन बलपछि नन्दन यादव एलबिडब्लूको धरापमा पर्दा अर्को बलमा युनिस ठकुरी रनटआउट भए । अन्तिम बलमा प्रतिशले विपिन शर्मालाई क्याच गराए ।
अन्तिम ओभरमा प्रतिशले तीन विकेट लिँदा एक रन पनि दिएनन् । कर्णालीले अन्तिम ओभरमा एक रनआउटसहित चार विकेट गुमायो । अघिल्लो ओभरको अन्तिम बलमा पनि विकेट गुमाउँदा कर्णालीले सात बलको अन्तरमा पाँच विकेट गुमायो ।
बलिङमा प्रतिशले चार विकेट लिँदा १७ रन दिए। क्रिस सोल र बसिर अहमदले दुई/दुई विकेट लिए । कप्तान सन्दीप लामिछाने फेरि विकेटविहीन बने । उनले एनपिएलको चार खेलमा एक विकेट मात्र लिन सके ।
चार खेलमा कर्णालीले दोस्रो जित निकालेको हो । विराटनगर भने तीन खेलमा पराजित भइसकेको छ ।