जनकपुर बोल्ट्सलाई ७२ रनले हराउँदै सुदूरपश्चिम विजयी

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको छ । आजको खेलमा सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि एनपीएलमा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ ।

बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको हो । सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरीह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भएको हो । यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ ।

५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउन सफल भएका थिए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरको बलिङसामु आज जनकपुरका ब्याटरसँग कुनै जवाफ थिएन । लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूरपश्चिमविरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गर्‍यो ।

जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले दुईरदुई विकेट लिए । सैफ जैब र नरेन साउदले समान एकरएक विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिलो बलमै विकेट लिन सफल भएका थिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाउन सफल भएको थियो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाउन सफल भएका थिए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह एक रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे ।

५५ रनमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स त्यसपछि धर्मराएको थियो । सुदूरपश्चिमका सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । हर्श थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन ।

जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २–२ विकेट लिन सफल भए । जितपछि सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us