विराटनगरले चितवनलाई ५१ रनले हरायो

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज शुक्रबार भएको खेलमा बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हराएको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम गरेको छ ।

चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ । ६ खेलबाट ६ अंकसहित चितवन चौथो स्थानमै कायम रहेको छ । चितवनले अब लिगको अन्तिम खेलमा शनिवार प्लेअफमा छनोट भइसकेको जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

विराटनगरको जितमा अलराउण्ड प्रदर्शन गरेका बसिरले ब्याटिङमा अर्धशतक बनाए भने किफायती बलिङ गर्दै १ विकेट लिन सफल भएका थिए । विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १३० रन मात्रै बनाउन सफल भयो । चितवनका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ४२ रन बनाउन सफल भए ।

यसैगरी ओपनर सन्तोष कार्कीले २५ बलमा २८, कप्तान कुशल मल्लले २५ बलमा २५ र रवि बोपाराले २४ बलमा २० रन बनाउन सफल भए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिन सफल भए । बसिरले ४ ओभरमा १ मेडन राखद् १९ रन मात्र खर्चेर १ विकेट लिए । यस्तै क्रसि सोल र सुबास भण्डारीले पनि १–१ विकेट लिन सफल भएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले बसिर अहमदको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे ।

यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए । चितवनले फिल्डिङमा चुक्दा बसिर र गप्टिलले त्यसको फाइदा उठाएका थिए । चितवनले दुवैको क्याच छुटाएको थियो । चितवनका सोहेल तनविरले नवौँ ओभरमा बसिर ८ रन हुँदा क्याच ड्रप गरेका थिए । यस्तै १३औं ओभरमा चितवनका कप्तान कुशल मल्लले विराटनगरका गप्टिलको क्याच ड्रप गरेका थिए ।

जुन चितवनका लागि महंगो सावित बन्यो । कमजोर सुरुवात गरेपनि इनिङ्सको अन्तिममा आक्रमक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो । कुनै बेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३–४ को अवस्थामा थियो । तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे ।

ओपनर लोकेश बम र वान डाउनमा आएका दिपक बोहरा पहिलो ओभरमै आउट भएका थिए । स्कट एडवार्ड्स दोस्रो ओभरमा आउट भए । निकोलस किर्टोन सातौं ओभरमा आउट भएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो । तर गप्टिल र बसिरले अर्धशतकिय साझेदारी गर्दै विराटनगरको स्कोर उकासले ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us