विराटनगरलाई १ विकेटले हराएपछि काठमाण्डु गुर्खाजको प्लेअफ खेल्ने सम्भावना कायमै

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १३:३४ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज आइतबार भएको खेलमा विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि काठमाण्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।

लिगको अन्तिम खेल जितेपछि काठमाण्डु गुर्खाज ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमाण्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ ।

काठमाण्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ । सोमबार सुदूरपश्चिम र कर्णाली याक्सबीच हुने खेलपछि मात्र काठमान्डु प्लेअफ पुग्ने नपुग्ने टुङ्गो लाग्नेछ ।

सुदूरपश्चिमले कर्णालीलाई ५३ रन भन्दा बढीले पराजित गरेमा मात्र काठमाण्डु नेटरनरेटमा माथि आउद्देछ । विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाण्डु गुर्खाजले १८.१ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

काठमाण्डुले आक्रमक सुरुवात गरेपनि बीचमा विकेट लगातार गुमाउँदा धर्मराएको थियो । दिपेश कँडेलले १९औं ओभरको पहिलो बलम सुवास भण्डारीलाई चौका प्रहार गर्दै काठमाण्डुको जित निश्चित गरेको थियो ।

काठमाण्डुका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाउन सफल भएका थिए । शंकर राना १६ रनमा अविनित रहे । रासिद खानले १४, जेरार्ड एरासमसले १२ र माइकल लेभिटले १० रन बनाउन सफल भए ।

बलिङमा विराटनगरका लागि सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । अनिल खरेल, बसिर अहमद र क्रिस सोलले २–२ विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us