
काठमाण्डु, ३० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (आइतबार) भएको खेलमा सुदूरपश्चिम रोएल्सले पोखरा एभेन्जर्समाथि ५ रनले पराजित गरेको छ । स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको छ ।
सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिममा सम्हालिन नसक्दा २ बल अगावै १४८ रनमा अलआउट हुन पुग्यो । अन्तिम ओभरमा जितका लागि पोखरालाई ६ बलमा ८ रन आवश्यक रहँदा २ रन मात्र जोडेर ३ विकेट गुमाएपछि जिन नजिक पुगेर पनि पराजित भएको हो । पोखरालाई अलआउट गर्न सुदूरका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिन सफल भए ।
कुगेलेइनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिन सफल भए । पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३६ रन बनाउँदा रेमोन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रन बनाउन सफल भए । सुदूरपश्चिमका लागि हर्मीत सिंहले पनि ३ विकेट लिए । ६ खेल खेल्दा पाँचौ जित हात पारेको सुदूरपश्चिम १० अंक जोडेर शीर्ष स्थानमा उक्लन सफल भएको छ ।
समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ । आजको जितपछि सुदूरपश्चिमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ ।
अब लिगको अन्तिम खेलमा सुदूरले सोमबार कर्णाली याक्ससँग प्रतिस्पार्धा गर्ने छ । अब लिगको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । अहिलेसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् ।