
काठमाण्डु, १ पुस– साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ । आज ५१.३७ अंकले बजार घट्दा परिसूचक २६३१ बिन्दुमा ओर्लिएको नेप्सेले जनाएको छ ।
आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ । यसमा सबैभन्दा धेरै जानकी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, नारायणी विकास बैंक, स्वाभिमान लघुवित्त लगायतका लगानीकर्ताले धेरै गुमाएका छन् ।
जानकी फाइनान्सको सेयर मूल्य आज ९.५८ प्रतिशतले घटेको पनि नेप्सेले जनाएको छ । सोमबार १५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यसमा कुथेली बुखरी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । जोशी हाइड्रोपावको ८.७० प्रतिशत, कुमारी सबल योजनाको ५ प्रतिशत र नेशनल हाइड्रोपावर कम्पनीको मूल्य ३.९८ प्रतिशतले बढ्यो ।
कारोबार रकमका हिसाबले आज एनआरएन इन्फ्रास्ट्रक्चर पहिलो नम्बरमा रह्यो । यसको २६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार कुल १ करोड २७ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको दिएको छ ।