चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स क्वालिफायर टु मा

काठमाण्डु टुडे २०८१ पुष ३ गते १२:५० मा प्रकाशित

काठमाण्डु, ३ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बुधबार भएको खेलमा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।

एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको हो । कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्ने पक्का भएको छ ।

१७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिन सफल भएका थिए । बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५३ रन बनाउन सफल भए । एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो । कप्तान कुशल मल्लले २१ रन बनाउन सफल भएका थिए ।

त्यसअघि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाउन सफल भएका थिए । यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाउन सफल भएका थिए ।

चाडविक वाल्टनले अविजित ४६ रन बनाउन सफल भएका थिए । २३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जिसन मक्सुदले १४ रन योगदान गरे ।ओपनर रित गौतम र गुल्सन झाले खाता खोल्न सकेनन् । बलिङमा चितवनका सोहेल तनविरले २ तथा रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट लिन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us