रोहित पौडेललाई पछि पार्दै पहिलो स्थानमा उक्लिए रवि

काठमाण्डु टुडे २०८१ पुष ३ गते १३:३४ मा प्रकाशित

 काठमाण्डु, ३ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा रवि बोपारा उक्लिएका छन् ।

एनपीएल क्रिकेट अन्तर्गत आज बुधबार भएको खेलमा इङ्ल्यान्डका अनुभवी ब्याट्सम्यान बोपारा बुधबार खेलिएको कर्णाली याक्सविरुद्धको ‘एलिमिनेटर’ खेलपछि चितवन राइनोजका प्रभावशाली ब्याट्सम्यान रवि बोपारा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिन सफल भएका हुन । कर्णाली याक्सविरुद्ध उनले अर्धशतक पनि बनाए ।

उनी जारी एनपीएलमा तीनवटा अर्धशतक बनाउने एकमात्र खेलाडी पनि हुन् । यद्यपि, बोपाराको टोली चितवन राइनोज उपाधि होडबाट बाहिरिएको छ । बोपरा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेललाई पछि पार्दै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् । रोहितको टोली पनि यसअघि उपाधि होडबाट बाहिरिएको छ ।

जारी एनपीएलमा आठ खेल खेलेका बोपाराले बनाएको कुल रन दुई सय ८६ पुगेको छ । यो सूचीमा दोस्रो स्थानमा रहेका रोहितले भने सात खेल खेल्दै कुल दुई सय ७९ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पोखरा एभेन्जर्सका आन्द्रेस गौस तेस्रो स्थानमा छन् । उनले ६ खेल खेल्दै कुल दुई सय २४ रन बनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us