
काठमाण्डु, ३ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बुधाबार भएको खेलमा मदतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश गरेको छ ।
विनोद भण्डारीको अर्धशतक मदतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश गरेको हो ।
ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गर्न सफल भएको हो ।
विनोदले ५५ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गर्न सफल भए । कप्तान दीपेन्द्र सिंह ऐरील अविजित २० रन बनाउन सफल भए । उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।
ऐरीले चौका प्रहार गर्दै खेल जिताएका थिए । जनकपुरका ललित राजवंशी र किशोर महतोले १–१ विकेट लिन सफल भएका थिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाउन सफल भएको थियो ।
जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाउन सफल भए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिन सफल भएका थिए । स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।
सुदूरपश्चिमले दोस्रो पटक जनकपुरलाई पराजित गरेको हो । क्वालिफायर वानमा पराजित भएपनि जनकपुरले फाइनल पुग्नका लागि अर्को खेल खेल्ने अवसर पाउनेछ । जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्नेछ ।