
काठमाण्डु, ६ पुस– जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल भएको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर जनकपुरले पुरा गर्न सफल भएको हो ।
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो । बलिङमा सुरुमा रन खर्चिए पनि पुनरागमन गर्दै सुदूरपश्चिमलाई १८४ रनमै रोकेपछि जनकपुरले जवाफमा उत्कृष्ट ब्याटिङ गर्दै खेल जितेको हो । जनकपुरलाई च्याम्पियन बनाउन मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरे ।
उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाउन सफल भए । पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए ।
आसिफले सातू ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाउन सफल भए ।यस्तै हर्शक थाकरले अविजित ३० रन जोडे ।
थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । वान डाउनमा ब्याटिङमा आएका मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए । जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । विजयी रन प्रहार गरेका मयन यादव २ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।