कोषका रकम रोजगारी बढाउने क्षेत्रमा प्रयोग गरौंः अध्यक्ष ढकाल

काठमाण्डु टुडे २०८१ चैत ३ गते १२:०० मा प्रकाशित

काठमाण्डू, ४ चैत– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन । आज (सोमबार) काठमाण्डूमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन ।

उनले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने पनि बताएका छन । अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरुको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने पनि बताएका छन ।

उनले कोषहरुको करिव ५२ प्रतिशतभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने पनि बताएका छन । अध्यक्ष ढकालले भने, ‘नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायत कोषहरुमा करिब ५२ प्रतिशत भन्दा बढी फण्ड रहेको बताउँदै उनले भने, ‘करिव दुई खर्ब ७० अर्बको हाराहारीमा यहाँहरुको फण्ड रहेछ ।

त्यसैगरेर एसएसएफको कुरा गर्दा १ खर्ब जति छ । सञ्चय कोषको पनि त्यति नै ठूलो फण्ड छ । तर हामी खासगरी रोजगारी सिर्जना, पूर्वाधार बनाउने कुराहरु, आम पब्लिकलाई सर्भिस दिनेकुराको त्यत्तिकै खाँचो छ ।

यो फण्डको प्रयोग गर्न सकिरहेका छैनौं ।’ उनले थपे, ‘एउटा मेरिट बेसिसमा सर्टेन प्रसेन्टेज पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, हाइड्रोपावर लगायत कतिपय फण्ड सरकार मातहतका कम्पनीहरुमा शुरु भइसकेको छ ।

निजी क्षेत्रको प्रोजेक्टमा पनि लगानी गर्नुपर्छ ।’ अध्यक्ष ढकालले जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us