
काठमाण्डू, ७ चैत–अचेल सबैजसोले मोबाइल प्रयोग गर्ने गरेका छन । अधिकांश पुरुषले खल्तीमा मोबाइल बोकेर हिँड्ने गर्दछन् । कहिलेकाहीँ आफ्नै खल्तीमा रहेको मोबाइलले पनि ठुलो दुर्घटना निम्त्याउन सक्छ भन्ने उदाहरण हालै भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा भएको घटनालाई लिन सकिन्छ । सारंगपुर निवासी १९ वर्षीय अरविन्द सडक किनारमा पानीपुरी बेच्ने गर्दथे ।
मंगलबार तरकारी किनेर गाउँमा फर्किंदै गर्दा बाटोमै उनको मोबाइल पड्कियो । मोटरसाइकलमा सवार उनी मोबाइल विस्फोट भएपछि अनियन्त्रित भएर लडे । गम्भीर घाइते अवस्थामा उनलाई उद्धार गरी स्थानीयले सारंगपुरस्थित अस्पताल पुर्याए ।
प्राथमिक उपचारपछि उनलाई शाजापुरमा रेफर गरियो । उनको अण्डकोष फुट्नका साथै मोटरसाइकलबाट लडेर टाउकोमा चोटसमेत लागेको छ । अरविन्दकै दाजुका अनुसार अरविन्दले हालै एउटा पुरानो मोबाइल किनेका थिए ।
रातभर मोबाइल चार्ज गरेका उनले बिहानै तरकारी किन्न जाँदा मोबाइल खल्तीमा बोकेका थिए । तरकारी किनेर फर्किने बेला अचानक मोबाइल पड्किएर दुर्घटना भएको उनका दाजुले बताएका छन ।
अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन । प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरले बताए ।