
काठमाण्डू, २२ चैत– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङले पहिलोपटक शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
आज (शुक्रबार) काठमाण्डूमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो कार्यकालमा भएका काम र सरकारले आफूलाई पदबाट हटाउन लगाएका आरोपबारे बताए । सँगैसँगै घिसिङले राजनीतिमा आउनसक्ने केही संकेत गरेका छन् ।
तर, उनले प्रष्ट खुलाएर राजनीतिमा आउने वा नआउने भन्ने खुलाएनन् । ‘जनताले अहिले धेरै रुचाएको पात्रमध्ये तपाईं पनि पर्नुहुन्छ । तपाईंलाई जनताले कहिले राजनीतिमा देख्न पाउँछन् ?’ घिसिलाई एक सञ्चारकर्मीको प्रश्न थियो ।
जवाफमा उनले भनेका छन्, ‘एउटा जिम्मेवार नागरिकको हैसियतबाट कुनै पनि जिम्मेवारी लिन म तयार छु ।’ उनलाई राजनीतिमा आउँदा कस्ता मोडालिटी प्रयोग गर्नुहुन्छ ? भनेर पनि प्रश्न सोधिएको थियो । तर, उनले धेरै केही खुलाएनन् । सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्नुअघि घिसिङले एक लामो विज्ञप्ति पढेर सुनाएका थिए ।