
काठमाण्डू, २३ चैत– काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्दै छिन ।
युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाण्डू महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो ।
उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरूको अध्ययन भ्रमण गर्ने कार्यतालिका रहेको छ । उपप्रमुख डंगोल बेल्जियमपछि अदालतको अवलोकन भ्रमणका लागि लक्जेम्बर्ग जाने कार्यक्रम छ ।
त्यहाँ पनि उनले युरोपियन युनियनको अभ्याससँगै त्यहाँको विवाद निरूपणका लागि भएका र गरेका प्रयासहरूका बारेमा अनुभव लिने कार्यक्रम छ ।
भ्रमणकै सिलसिलामा त्यहाँको स्थानीय सरकारसँग पनि विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । बेल्जियममै युनेस्कोसँग त्यहाँका सम्पदा र काठमाण्डू महानगरपालिकाका सम्पदा संरक्षणका लागि गरेका प्रयासहरूका बारेमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।