
काठमाण्डू, २४ चैत– राष्ट्रिय सभा सदस्य डा.अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा निर्वाचित भएकी छन् ।
राष्ट्रिय सभा सदस्य शाक्य एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै आईपीयुको दिगो विकास स्थायी समितिमा विजयी भएकी हुन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा जारी सम्मेलनमा शाक्यले माल्दिभ्स र इरानका उम्मेदवारलाई पराजित गर्दै सदस्यमा निर्वाचित हुन सफल भएकी हुन ।
सम्मेलनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको टोली सहभागी रहेको छ । सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा लिएको भन्दै आईपीयुको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेका थिए ।
नेपालले पहिलो पटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो । आफ्नो जितसँगै शाक्यले यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याएको महसुस भएको बताइन् ।