रवि लामिछाने भैरहवा कारागार चलान

काठमाण्डु टुडे २०८१ चैत २४ गते ११:५३ मा प्रकाशित

काठमाण्डू, २५ चैत– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सोमबार जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ ।

शुक्रबार राति आफ्नै निवास काठमाण्डूबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः १२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिएका छन । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ ।

उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us