डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत २४ गते १६:५९ मा प्रकाशित

डोटी, २५ चैत– डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ ।

आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी ९जम्मा० गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा हुँदा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिएका छन ।

गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको र सोही ट्रकमा सवार रहनुभएका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बडीकेदार गाउँपालिका–३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिएका छन । ट्रक चालक बडिकेदार गाउँपालिका–२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us