
काठमाण्डू, २६ चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने घोषणा गरेका छन ।
आज (मंगलबार) पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने पनि बताएका छन । अध्यक्ष लिङ्देनले भने, ‘म फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिनँ । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं, ‘यो कुरा याद राख ।’
अहिलेको जनता मुर्ख भएर नबस्ने भन्दै उनले सूचनालाई कसैले पनि मुठ्ठिमा राख्न नसक्ने पनि बताएका छन । अध्यक्ष लिङ्देनले भने, ‘अब जनता मुर्ख भएर बसिराख्दैन । सूचना प्रविधिको यति विकास भएको छ ।
अब सूचनालाई कसैले आफ्नो मुठ्ठीमा राख्न सक्दैन ।’ उनले आफूहरू सल्लाह गरेरै विद्रोहमा जाने पनि जिकिर गरेका छन । उनले भने, ‘विद्रोह नै गरेर जाऔं भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौं, झुक्याएर जाँदैनौं ।’