
काठमाण्डू, २६ चैत– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर नबस्ने स्पष्ट पारेका छन् ।
आज (मंगलबार) बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको सभामा अध्यक्ष लिङ्देनले काठमाण्डू महानगरका मेयर बालेन शाहलाई जरिवाना नकाट्न चेतावनी दिएका थिए ।
उनले आफ्ना नेता कार्यकर्तालाई सडक सफा गर्न पनि आग्रह गरेका थिए । यसको जवाफमा शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन ।’
उनले अगाडि थपेका छन्, ‘सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।’ महानगर प्रमुख शाहले सडक सफा गरेकोमा राप्रपालाई धन्यवाद दिंदै लेखेका छन्, ‘राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’