सरकारले बोलाएको वार्तामा नबस्ने शिक्षक महासंघको जवाफ

काठमाण्डु टुडे २०८१ चैत २६ गते ९:४३ मा प्रकाशित

काठमाण्डू, २७ चैत– आन्दोलनरन शिक्षक महासंघले सरकारसँग वार्तामा बस्न अस्वीकार गरेको छ ।
तत्काल संसद अधिवेशन बोलाउने वा अध्यादेशमार्फत आफूहरुका माग सम्बोधन गर्ने तत्परता नदेखाएसम्म वार्तामा नबस्ने अडान महासंघको छ ।

शिक्षा मन्त्रालयले मंगलबार विज्ञिप्तमार्फत महासंघसहित विभिन्न शिक्षक संगठनका घटकलाई वार्तामा आउन अपिल गरेको थियो । आफूहरुका माग शिक्षा ऐनमा समावेश गर्नुपर्ने मागसहित देशभरका शिक्षक एक सातादेखि काठमाण्डू केन्द्रित आन्दोलनमा छन् ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा विगतमा भएका सहमति कार्यान्यवनका लागि मन्त्रिपरिषदबाट निर्णय गर्न र संसद अधिवेशन बोलाउन वा अध्यादेशमार्फत माग सम्बोधन गर्न भनिएको छ ।

‘विगतमा भएका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषदको निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा शीघ्रातीशीघ्र निर्णय लिँदै ऐन जारी गर्नका लागि माथि प्रस्तावित विकल्पबारे स्पष्टताका साथ पहल भएमा वार्ताको विश्वसनीय वातावरण निर्माण हुने भएकाले त्यस्तो अवस्थामा मात्र महासंघ वार्तामा बस्न सक्ने कुरा स्पष्ट गर्दै विज्ञप्ति मार्फत् आह्वान भएको अहिलेको वार्तामा बस्नुको कुनै औचित्य नरहेको समेत प्रष्ट्याउन चाहान्छौं’, विज्ञप्तिमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us