
अछाम, २७ चैत– अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन् ।
आगोबाट सात करोडभन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो ।
जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।
अछाम प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिए । पीडितहरूबाट क्षतिको विवरण यथाशीघ्र संकलन गरिने उनले बताए ।