
कामठाण्डू, २७ चैत– कैलालीको अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा एक जनाको शव फेला परेको छ । आज बुधवार बिहान अन्दाजी ३५–४० वर्षका एक पुरुषको टाउकोमा ढुङ्गाले प्रहार गरिएको र आँखा समेत फुटेको अवस्थामा शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गङ्गाबहादुर थापाले टाउकोको बायाँ भागमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा ढुङ्गा नजिकै पुरुषको शव फेला परेको जानकारी दिएका छन ।
प्रारम्भिक अनुसन्धानअनुसार मन्दिरभित्रै उक्त हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । शव मन्दिरको दक्षिण प्राङ्गणमा फेला परेको भए पनि रगतका धारा मन्दिरभित्र र आसपासका क्षेत्रसम्म फैलिएका प्रहरीले जानकारी दिएको छ ।
मन्दिरका पुजारी टिकादत्त पनेरुले मन्दिरको ढोका बन्द गरेर राति घर फर्केका थिए । बिहान साढे ६ बजे पतञ्जली योग समितिका एक सदस्यले शवको बारेमा जानकारी गराएका थिए ।
स्थानीयवासीले घटनाका बारेमा प्रहरीले लापरबाही गरेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन् । प्रहरीले शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल पठाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक पुरुषको पहिचान नखुलेको समेत प्रहरीले जानकारी दिएको ।