
कामठाण्डू, २७ चैत– केहि दिन यता शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाण्डू केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन ।
काठमाण्डूको बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब समेत दिएका छन ।
‘शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर प्रदर्शन गरेका हौँ,’ आन्दोलनमा सहभागी हेटौंडाबाट आएका शिक्षक पूर्ण ब्लोनले भने, ‘ एक साता हुँदा पनि हाम्रो मागहरू सम्बोधन भएको छैन। त्यसकारण हामीले आज हात उठाएर दबाब दिन खोजेका हौं।’ हिजो ९मंगलबार० दिउँसै बत्ती बालेर शिक्षकले सरकार खोजेका थिए ।
यसअघि शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए । सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ ।
उनीहरुको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित समेत भएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा रहेका छन । यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् । काठमाण्डू केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुँदा नतिजा प्रकाशनमा समेत ढिलाइ हुने भएको छ ।