
काठमाण्डू, २८ चैत– साताको कारोबारको पाँचौ दिन आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ वृद्धि भएको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन मुल्य आज एकै दिन प्रतितोला ५ हजार ७ सय रुपैयाँ बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ कायम भएको नपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ ।