अध्यादेश कांग्रेसको आइडियामा ल्याइएको होः महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ चैत २७ गते १५:३१ मा प्रकाशित

काठमाण्डू, २८ चैत– कांग्रेसका महामन्त्री गगन थापाले केही समयअगाडि सरकारले ल्याएको अध्यादेश कांग्रेसकै आइडियामा ल्याएर संयुक्त सरकारमार्फत् कार्यान्वयन गरेको बताएका छन ।

आज (बिहिबार) कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई विहीबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

महामन्त्री थापाले अर्थतन्त्र ठूलो दबाबमा रहेको अवस्थामा कानुनी सुधार गर्न अध्यादेश ल्याइएको पनि बताएका छन । उनले भने, ‘अर्थतन्त्र ठूलो दबाबमा छ । सरकारले लगानी र व्यवसायको वातावरण बनाउन केही कानुनी सुधार गर्नुपर्नेछ भनेर, यो कांग्रेसकै आइडिया हो, ‘हाम्रो आइडियामा हामीले सरकारलाई काम गरायौं ।

संयुक्त सरकारले काम गर्‍यो र केही कुराको सुधार भएको छ ।’ अध्यादेशमार्फत् कानुनी सुधार गरेर सरकारले महत्वपूर्ण काम गरेको महामन्त्री थापाले जिकिर गरे । ‘संसदबाट केही कानुन पारित भएको बारे बरालिएको बहस भयो अध्यादेश ठिक कि बेठिक भनेर’ उनले भने, ‘आर्थिक क्षेत्र सुधार्न सरकारले केही महत्वपूर्ण काम गरेको छ । यो सुखद छ ।’

सरकारले संकटको महसुस गरेपछि अध्यादेश ल्याएको उनले बताए । उनले भने, ‘सरकारले इमरजेन्सीको महसुस गर्‍यो । अर्थतन्त्रमा ठूलो दबाब छ । बैंकमा पैसा छ ।

ऋण लिन कोही पनि गइरहेको छैन । राष्ट्रबैंकमा विदेशी मुद्रा भरिभराउ छ सदुपयोग गर्न सकिएको छैन, ‘सरकारको ढुकुटीमा भएको पैसा उसले प्रयोग गर्न सकेको छैन । सरकारको ढुकुटीमा आउनुपर्ने जति पैसा उठिरहेको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us