
काठमाण्डू, २८ चैत– प्रहरीले राँके जुलुस निकालेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ । राँके जुलुस निकालिएका सहकारी पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पनि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए ।
उनले भने, ‘राँके जुलुससहित हुलहुज्जत गर्नेलाई नियन्त्रणमा लिइएको हो । अवस्था हेरेर छाड्ने कि म्याद थप गर्ने भन्ने टुंगो लाग्नेछ ।’ सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले नियन्त्रणमा लिइएका व्यक्तिलाई तत्काल रिहा गर्न माग गरेको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राखेर अमानवीय व्यवहार गरिएको भन्दै अभियानका सचिव रामनारायण श्रेष्ठले विज्ञप्ति समेत निकालेका छन् ।
माइतीघरबाट ११ जना र बाजालु क्षेत्रबाट १३ जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन । सबैलाई बिना सर्त रिहा गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनलाई दमन नगरी वार्ताको माध्यमबाट समाधान गरिनु पर्ने र पीडितहरूलाई न्याय दिन सरकारले समाधानको बाटो खोज्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरेका छन् ।