दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्‍याइयो, विमानमार्फत काठमाण्डू ल्याइने

काठमाण्डु टुडे २०८१ चैत २८ गते ११:२१ मा प्रकाशित

काठमाण्डू, २९ चैत– हिजो (बिहिबार) बेलुका भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्‍याइएको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको प्रहरी स्रोतले जानकारी दिएको छ । भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई अहिले जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई विमानमार्फत काठमाण्डू ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दियो । भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए । साथै काँकडभिट्टा नाकामा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको थियो । उनका आफन्त र केही समर्थकहरु पनि त्यहाँ भेला भएका थिए । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।

 राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । त्यसपछि प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं फरार भएका थिए ।

त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो । त्यहाँबाट भागेर उनी भारत पसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us