
काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज (शुक्रबार) ल्याइएको छ ।
उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाण्डू ल्याइएको हो । उनलाई काठमाण्डू जिल्ला प्रहरी परिसरमा ल्याइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाण्डू ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।
अहिले उनलाई जिल्ला प्रहरी परिसर लगिएको छ । काठमाण्डूको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो ।
विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् । उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको सुरक्षा स्रोतले जनायो । तर प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ ।