देउवाकै अगाडि शेखरले दोहोर्‍याएः कांग्रेस सत्तामा छ, सरकारमा छैन

काठमाण्डु टुडे २०८१ चैत २९ गते ११:३८ मा प्रकाशित

काठमाण्डू, ३० चैत– कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको बताएका छन । आज शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका ।

उनले आफूले पटकपटक दोहोर्‍याएको बताउँदै फेरि स्मरण गराएको बताए । पार्टी सभापति शेरबहादुर देउवासैगै रहेका कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने उनले बताएका छन ।

कांग्रेस नेता कोइरालाले भने, ‘पटक–पटक भन्ने गरको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो । एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं, ‘कही यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले उहाँहरुलाई वार्न गर्नपर्छ ।

गरेनौ भने अप्ठेरोमा पर्न सक्छौं ।’ उनले कांग्रेस–एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई पनि उठाएका छन् । संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै उनले ढिला नगर्न सुझाव पनि दिए ।

‘संविधान पुनर्वलोकन गर्ने कुरा हो । यसमा ढिलाई नगरौं,’ उनले भने , ‘ढिलाइ भए सडक आक्रोशित हुन्छ ।’ उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिइएको भए पनि यो दुवै नभएको र दण्डहीनता बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us