‘सरकारतिर त्यति ध्यान हाम्रो चाहिँ छैनः प्रचण्ड

काठमाण्डु टुडे २०८१ चैत ३० गते १२:५८ मा प्रकाशित

काठमाण्डू, ३१ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेका छन । आज (आइतबार) गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन ।

उनले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको पनि बताएका छन । नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’

उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गर्दै भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’यसअघि प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए ।

त्यसबारे थप प्रष्ट्याउन पत्रकारहरुको प्रचण्डलाई भनेका थिए । तर यसबारे थप बोल्न नलगाउन प्रचण्डले पत्रकारहरुलाई आग्रह गरेका थिए । यद्यपि उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने पनि बताएका छन । अध्यक्ष प्रचण्डले आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै अब देश त्यतैतिर जाने अनुमान गरे ।

यसबारे धेरै बोल्न नलगाउन आग्रह गर्दै प्रचण्डले भने, ‘पछिल्लोपटक घटनाक्रमहरु नयाँ भए । केही नयाँ अनुभव सहित भनेको हो मैले । ‘केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो ।

मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।’ सरकारमा जानेबारे माओवादी केन्द्रले ध्यान नदिएको दाबी प्रचण्डले गरे । ‘सरकारतिर त्यति ध्यान हाम्रो चाहिँ छैन,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us