वीरगञ्जमा आज राति १२ बजेसम्म थपियो कर्फ्यु

काठमाण्डु टुडे २०८१ चैत ३० गते १३:२४ मा प्रकाशित

काठमाण्डू, ३१ चैत– पर्साको वीरगञ्जमा हिजो (शनिबार) दुई समूहबीच भएको झडपपछि उत्पन्न स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरीएको जिल्ला प्रशासन कार्यलय पर्साले जानकारी दिएको छ ।

आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलन गर्दै उक्त घटनामा ३३ जना घाइते भएको पनि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो जानकारी दिएका छन । पत्रकार सम्मेलनमा उनले भने, ‘स्थिति नियन्त्रणको क्रममा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर भएको छ, ‘२५ सुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी ३३ जना घाइते हुनु भएको छ ।’

उनले घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । कर्फ्यु आदेश उल्लंघन गर्नेहरु केहीलाई नियन्त्रणमा पनि लिइएको प्रजिअ अर्यालले जानकारी दिएका छन । दुई समुदायबीच शनिबार दिउँसो झडप भएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन । उनले भने, ‘आज राति १२ बजेसम्म निरन्तरता दिएका छौं, त्यसपछिको वस्तुस्थिति विश्लेषण गरेर थप निर्णय लिने छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us